ललितपुर, श्रावण २० -
जावलाखेलस्थित युनिटी टावरमा भाडामा व्यवसाय सुरु गरेका व्यवसायीले सामान फिर्ता लैजान सुरु गरेका छन् ।
प्रहरी, प्रशासन, व्यवसायीलगायतको सर्वपक्षीय छलफलपछि व्यवसायीलाई सामान फिर्ता लैजान स्वीकृति दिइएको हो । यो प्रकरणलगत्तै प्रहरीले जावलाखेलस्थित युनिटी टावर सिलबन्दी गरेपछि व्यवसायीको कारोबार ठप्प भएको थियो । सामान लैजान पाएका थिएनन् ।
सर्वपक्षीय छलफलपछि युनिटी टावरमा व्यवसायीले निर्माण गरेको संरचना नबिग्रने गरी सामान लैजान दिने सहमति भएको हो । तर सुपरमार्केटमा रहेका सामान र फर्निचरहरू फिर्ता लैजान अनुमति नपाएको व्यवसायी प्रदीप शाहीले गुनासो गरे । 'साँचो तपाईसँगै रहन्छ तर उप्काएर कुनै चीज नलग्नु भनेका छन्,' उनले भने, 'यहाँ लाखौं खर्च गरेर सजावट गरियो, अब फेरि त्यति खर्चेर अरूतिर पसल खोल्नुपर्ने भएको छ ।'
युनिटी टावरमै फलफूल पसल गरेका अर्का व्यवसायीले हजारौंको फलफूल कुहिएर नष्ट भएको बताए । 'फलफूल त कुहिए नै, पि
mजसमेत काम नलाग्ने भएछ,' उनले भने । टावरमा आठ व्यवसायीले पसल खोलेका थिए । अन्य १२ भन्दा बढी व्यवसायीले पसलका लागि अगि्रम भाडा तिरेर सजावटको काम सुरु गरेका थिए । टावरमै कारोबार गरेको मध्यमाञ्चल ग्रामीण विकास बैंकले बुधबार सामान ओसारिसकेको संयुक्त टोलीका एक सदस्यले जानकारी दिए ।
राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय, ललितपुर प्रहरी परिसर, जिल्ला राष्ट्रिय अनुसन्धान कार्यालय, ललितपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र व्यवसायीबीच वार्ता भई डिपार्टमेन्ट स्टोरमा रोकिएका सामान फिर्ता लैजाने सहमति भएको हो । प्रत्येक व्यवसायीले ५ देखि १२ लाख रुपैयाँसम्मको लगानी भएको दाबी गरेका छन् । युनिटी सञ्चालकको बदमासीले आफूहरू समेत बद्नाम भएको भन्दै उनीहरूले दुःख व्यक्त गरे । सामान फिर्ताका लागि निकै ताकेता गर्नुपरेको अर्का व्यवसायी राजेन्द्र ओलीले बताए ।
युनिटीले महिला विकास प्रशिक्षण प्रतिष्ठानको जग्गामा निर्मित कम्प्लेक्स भाडामा लिएर सञ्चालन गरिरहेको हो । प्रतिष्ठानसँग करार सम्झौता गरी कम्प्लेक्स निर्माण गरेको कम्पनीलाई युनिटीले मासिक १८ लाख भाडा बुझाउने गरेको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार सटर भाडामा लिन प्रतिवर्गफिट १ सय ५० रुपैयाँका दरले तिर्नुपरेको थियो । बुकिङकै क्रममा धेरैले तीन महिनाको भाडा अगि्रम भुक्तानी गरेका थिए । कोठामा टायल थप्नेदेखि सजावटमा समेत रकम खर्चेको बताएका छन् । भुइ तलामा युनिटी आफैंले डिपार्टमेन्ट स्टोर सञ्चालन गरेको थियो । बाँकी सटर भाडामा गइसकेका थिए । पहिलो तलामा करिब दस जनाले व्यवसाय सुरु गरिसकेका थिए । बाँकी आठ वटाजति सटर सञ्चालनको तयारीमा थिए ।
दोस्रो तलामा जुस, साइबर र रेस्टुरेन्ट सञ्चालनमा थिए र आधा बाँकी भागमा युनिटीकै लगानी रहेको मध्यमाञ्चल ग्रामीण विकास बैंक
थियो । कम्प्लेक्सको बाँकी भागमा युनिटीको मुख्यालय थियो भने केहीमा बुकिङ खुलेको थियो ।(kantipur daily)


No comments:
Post a Comment